काठमाण्डौ महानगरपालिका स्थित कीर्तिपुर निवासी अन्दाजी वर्ष २५ को श्याम लामाको यही मिति ५ मार्च २०१० का दिन मृत्यु भएको समाचार प्राप्त भएको छ । यूएईको अबुधाबी नेशनल होटल कम्पनीमा विगत २० महिनादेखि लामाले काम गर्दै आइरहेका थिए । समाचारदाता दिलविक्रम लिम्बुका अनुसार बेलुका आरामैसँग सुतेका लामाले बिहान करीब साढे ५ बजे अचानक ठूलो श्वास फेरेको साथीहरुले थाहा पाएपछि तुरुन्तै अबुधाबीको मप्रुक हस्पिटलमा लगेका थिए र हस्पिटल पुग्नासाथ उनको निधन भएको हो । लिम्बुका अनुसार मृतकका परिवारमा एक श्रीमती र दुई छोरी रहेका छन् भने उनी यूएई आएपछि जन्मिएकी कान्छी छोरीको मुखसम्म देख्न पाएका थिएनन् । सोही दिन कम्पनीले फन्डे मनाउँने कार्यक्रम रहेको र कम्पनीकै कर्मचारी लामाको दुःखद निधनले शोक मनाउँदै फन्डे कार्यक्रम पछाडि सारिएको पनि जानकारीमा आएको छ । निजको पार्थिव शव पोष्टमार्टमपछि नेपाल पठाइनेछ । यूएईमा नेपालीहरुको बढ्दो आगमनका साथ मृत्युदर पनि प्रतिदिन बढ्दै गएकोले यहाँस्थित नेपाली दूतावास र सामाजिक सँघ-सँस्थाहरु चिन्तित भएका छन् भने उद्वार कार्यमा समाजसेवीहरुले थप समय खर्चिन हम्मे पर्दै गएको पनि आभास हुन थालेको छ |