कुख्यात आपराधिक समुह छोटा राजनबाट छुट्टीएका भरत नेपालीले जमीम साहको हत्याको जिम्मेवारी लिएका छन्। नेपालीले एभिन्यूज टेलिभिजनलाई फोन गरी हत्याको जिम्मेवारी लिएका हुन्। बरिष्ठ क्राइम ब्रान्च अधिकारीहरुका अनुसार छोटा राजन समुहसित आबद्ध भरत नेपालीले सो समुह छोडी आफ्नै छुट्टै समुह खडा गरेका छन्। अन्डर वर्ल्ड डन छोटा राजनका सवैभन्दा विश्वसनिय सहकर्मीका रुपमा भरत नेपाली रहँदै आएका थिए। राजन समुहमा नेपाली शुरु देखि आबद्ध रहँदै आएको बताइएको छ। हाल नेपाली दक्षिण पूर्वि एशियामा रहेको बताइएको छ। अन्डर वर्ल्डमा खासै पकड नभएका नेपालीले अहिले भने भारतको उत्तर प्रदेश, विहार र मुम्बईमा आफ्नो सञ्जाल बढाउदै लगेको मुम्बई प्रहरीको दावी रहेको छ। नेपालीको समुहले अन्य आपराधिक समुहसँग पनि साठगाठ बढाउँदै लगेको बताइएको छ। केहि समयअघि मात्र भारतीय प्रहरीले नेपालीले उत्तर प्रदेशका एक विल्डरलाई फोन गरी फिरौती उठाउन गरेको फोन इन्टरसेप्ट गरेको थियो। फिरौती माग्ने क्रममा नेपालीले छोटा राजनको नाम नलिई आफ्नै नामबाट पैसा उठाउन खोजेको थियो। छोटा राजन र नेपालीबीच के कारणले फाटो आयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्। छोटा राजनका थुप्रै सहयोगीहरु जेलमा रहेको अवस्थामा नेपालीले पनि सो समुह छोडदा राजन समुह केहि कमजोर भएको प्रहरीको दावी रहेको छ। झण्डै दुई दशक सम्म छोटा राजन समुहमा आबद्ध नेपालीमाथि हत्याका मामिलामा झण्डै एक दर्जन मुद्दा रहेका छन्। नेपालीले तिलक नगरमा सिनेमाको टिकट ब्ल्याकमा विक्री गर्ने गर्थे र त्यहिबाट छोटा राजन समुहमा आवद्ध भई आपराधिक गतिविधिमा संलग्नता बढाउदै लगेको भारतीय प्रहरीको भनाई छ।
|